4 years ago
September 28, 2020
विजय नेपाली, पोखरा
विश्वमा खेलकुदले ठूलो रोजगारीको अवसर सिर्जना गरको छ । युरोपियन फुटबलका माध्यमबाट खेलाडीसँगै त्यससँग सम्बन्धित लाखौंको रोजीरोटी चलेको छ । छिमेकी भारतकै प्रसंगमा हेर्दा पनि क्रिकेटका कारण धेरैले रोजगारी पाएका छन् । आम्दानीका लागि लगानी पनि त्यहि अनुरुप गर्नुपर्ने हुन्छ ।
भारतमा क्रिकेटसँगै हक्की, ब्याडमिन्टन, कुस्ती लगायतका खेल लोकप्रिय छन् । तर जति क्रिकेटले रोजगारी दिएको छ, सायदै अरु खेलले दिएको होला । भारतमा फुटबलमा पनि त्यतिकै लगानी हुन थालेको छ । विशेषगरी पछिल्लो समय फ्रेन्चाइज लिग पद्दतिमा लाग्दै भारतीय खेलकुदमा व्यावसायिकता बढ्दो छ ।
भारतको क्रिकेट र हक्की विश्वकै उत्कृष्ट टोलीमा पर्दछन् । दक्षिण एसियालमा हेर्ने हो भने भारतको फुटबल टोली पनि सफल मानिन्छ । भारतको लिग पनि विस्तारै लोकप्रिय हुने क्रममा रहेको छ । क्लब क्रिकेट इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै उत्कृष्ट फ्रेन्चाइज लिग हो । आइपिएलको आर्थिक गतिविधिले देशकै अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ । स्तरकै हिसाबमा रणजी ट्रफी पनि विश्वको उत्कृष्ट घरेलु क्रिकेट पद्दतिमा गनिन्छ ।
अर्को छिमेकी मुलुक चीन पनि मार्सलआर्ट, टेबल टेनिसलगायतका खेलमा अब्बल छ । एसियामा जापानी फुटबल लोकप्रिय छ । विश्व फुटबलमा जापानको थोरबहुत चर्चा हुन्छ । देशलाई चिनाउनका लागि खेलकुद एउटा सशक्त माध्यम हो भन्ने विश्वले स्वीकार गरिसकेको विषय हो । नेपालमा खेलकुदमा भने व्यावसायिक बन्न अझै धेरै लगानी र त्यहि अनुरुपको योजना अघि सार्न बाँकी छ । फुटबल र क्रिकेटका हकमा अर्धव्यवसायिकता बाहेक नेपालको खेलकुदलाई व्यवसायिक बनाउने योजनाबद्ध पहल भएकै छैन ।
नेपालमा पनि खेलका हिसाबले धेरै खेलिन्छ । तर, व्यावसायिक नभै एमेच्योर हिसाबमा । तर पनि नेपालको खेलकुदलाई पयर्टनसँग जोडेर योजना अघि सार्ने हो भने त्यसले देशको अर्थतन्त्र उकास्न धेरै सहयोग पुग्नेमा दुविधा छैन । तथापी ठोस कदम भने अहिले सम्म चालेको पाइन्न ।
खेलकुद विकासका लागि भौतिक पूर्वाधार न्युनतम आवश्यकता हो । नेपाल त्यसमै चुकिरहेको छ । अधिकांश पुरानै संरचनाले नेपालको खेलकुद थेगेको छ । गत वर्ष नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) आयोजना गर्यो । काठमाडौं र पोखरामा थोरबहुत पूर्वाधार तयार भए । अधिकांश भने पूर्न संरचना गरियो ।
पोखराको हकमा भने रंगशालाले नयाँ स्वरुप पायो । सागमा पोखराले महिला फुटबल, महिला क्रिकेट, ह्याण्डबल, आर्चरी, ब्याडमिन्टन, भारोत्तोलन र ट्राइयाथोलन आयोजना गर्न सफल भयो । तर, पोखरा अझ गण्डकी प्रदेशलाईलाई पयर्टकिय खेलकुदसँग जोड्न सकियो भने त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
यसैपनि पोखराको सुन्दरताले स्वदेशी मात्र होइन विदेशीलाई पनि लोभ्याउछ । पोखरालाई पयर्टकिय खेलकुदको गन्तव्यस्थलका रुपमा विकास गर्न सकियो भने त्यसले विश्वभर देशको अझै व्यापक प्रचार हुन सक्ने सम्भावना छ ।
खेलकुद र पर्यटन छुट्टाछुट्टै विषय हुन् । तर, यी दुई विषयलाई एकै ठाँउमा जोड्न सकेको खण्डमा त्यसले यहाँ आर्थिक अवस्थालाई चलायमान बनाउनेछ । गण्डकी प्रदेशमा हाल खेल पूर्वाधारलाई महत्त्व दिएको देखिन्छ ।
यसै वर्षका लागि तय भएको नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशले आयोजना गर्नुपर्ने छ । सागका कारण अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान, बहुउद्देश्यीय कर्भड हल तथा अन्य खेल मैदान निर्माण भए । कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् ।
गण्डकी प्रदेशले पनि खेल क्षेत्रमा लगानी गर्न सक्ने हो र पयर्टनसँग जोड्ने हो भने प्रदेश समृद्ध प्रदेश बन्न सम्भवना छ । खेलकुदको क्षेत्रमा गरेको लगानी खेर भने जादैन । नेपालमा यस्तो पनि एउटा सोच थियो, खेलकुद क्षेत्रको लगानीले बालुवामा पनि हाले बराबर हो । तर, अहिले त्यो सोचमा परिवर्तन आउँदै गरेको देखिन्छ ।
गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएकै कारणले यहाँ साहसिक खेलहरुको आयोजना गराउन र ती खेलहरुको विकास गर्न सके समृद्धिको सपना पुरा गर्ने एउटा बलियो माध्यम बन्न सक्छ । गण्डकी प्रदेश जहाँ हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा खेलिने खेल देखि तराईको गर्मी क्षेत्रमा खेलिने खेल पनि आयोजना गर्न सकिन्छ ।
प्याराग्लाइडिङ पोखरामा मात्र छ । पर्वतमा पनि हाल विश्वकै दोस्रो उच्च स्थानमा रहेको बन्जिजम्प बनेको छ । कालीगण्डकीले विश्वकै उच्च क्षेत्रमा र्याफ्टिङको सम्भावना बोकेको छ । मनाङ र मुस्ताङमा रक क्लाइम्बीङ, माउन्टेन बाइक रेस लगायत उच्च भेगमा खेल्न सकिने खेल आयोजनाको सम्भावना देखिन्छ । यद्दपी त्यसका बारेमा अध्ययन हुन बाँकी छ ।
त्यस्तै क्यानोइनङ, हाई अल्टिच्युड अल्ट्रा रेस, हाइअल्टिच्युड म्याराथन जस्ता साहसिक खेलहरुको आयोजना गर्न सकिन्छ । पर्यटनसँग जोडिएका ती प्रतिस्पर्धामा विदेशी खेलाडीलाई सहभागी गराउन सक्दा पक्कै पनि अर्थतन्त्रमा समेत टेवा पुग्छ ।
खेल क्षेत्रमा पर्यटन क्षेत्रले लगानी गर्न सक्यो भने मात्रपनि हामीले देखेको समृद्धिको सपना पुरा हुने एउटा माध्यम बन्न सक्छ । तर गण्डकी प्रदेशमा खेलकुद पर्यटन क्षेत्रमा लगानी पर्याप्त हुन सकेको छैन । खेल पर्यटनलाई विकासका लागि अब कदम चाल्नु पर्ने अवस्था आइसकेको छ । खेलक्षेत्रको लगानी राज्यको समृद्धिको आधार हो । वर्षौंदेखि खेलकुदलाई अनुत्पादक रुपले उपयोग गर्दै आएको नेपाल अब यसलाई आर्थिक आर्जनको माध्यम बनाउने योजनाका साथ बहस सुरु गरिनुपर्दछ ।
खेलकुदलाई आर्थिक रुपले पनि उत्पादनमुलक क्षेत्रको रुपमा उपयोग गर्नकै लागि पर्यटकीय खेलकुद राम्रो विकल्प पनि हो । नेपालको प्राकृतिक श्रोतले पनि खेलकुद पर्यटनका लागि सहज देखिन्छ । सम्भावनाका बाबजुद गण्डकी प्रदेश लगानी गर्नबाट चुकेको छ । पर्यटन व्यवसाय र खेल क्षेत्रको दुरीले पनि यहाँको प्राकृतिक श्रोतको भरपुर उपयोग हुन सकेको छैन ।
पर्यटकीय खेलकुदको माध्यमबाट अर्थोपाजर्न गर्ने वैधानिक आधार प्रष्ट छैन । पयर्टन खेलकुदलाई पनि खेलकुदको दायरमा ल्याउन प्रयास गर्न अब ढिला गर्नुहुँदैन । गण्डकी प्रदेशमा पर्यटकको चाप बढाउनका लागि खेल पयर्टन एउटा बलियो आधार बन्न सक्न । पर्यटन गण्डकी प्रदेशको मेरुदण्ड हो भन्दा फरक पर्दैन ।
पर्यटन विकासका लागि ठूलो अन्तराष्ट्रिय प्रतियोगिता आयोजना अर्को आधार हो । आयोजना स्थल, एयरपोर्ट, होटललगायतका अन्य व्यवस्थापन गर्न सकेको खण्डमा पोखरा ठूला प्रतियोगिता आयोजनाका लागि पनि सहि गन्त्व्य हो । पोखरा रंगशाला हाता भित्रै क्रिकेट मैदान पनि छ । एकै ठाँउमा क्रिकेट र फुटबलको मैदान अन्य कुनै जिल्लामा छैन ।
फुटबल पोखरामा यसै लोकप्रिय छ । पोखरा प्रिमियर लिग (पिपिएल) को दुई संस्करणको आयोजनाले पोखरामा क्रिकेटको लोकप्रियता बढ्ने सम्भावना देखिएको छ । अहिलेको अवस्थासम्म आइपुग्दा दर्शकबाट शुल्क लिन सकिने खेल नेपालमा फुटबल, क्रिकेट र आशिंक रुपमा भलिबल मात्रै हुन् ।
एयरपोर्ट, ठूला होटललगायत अन्य कारणले पनि पोखराले ठूलो प्रतियोगिता आयोजनाको सम्भवना बोकेको छ । सागका ८ खेल आयोजनाले पनि त्यसलाई थप पुष्टि गरिसकेको छ । त्योसँगै साहसिक र पयर्टकिय खेल आयोजना गर्न सकेको खण्डमा गण्डकी प्रदेशको आम्दानीको एउटा बलियो माध्यम बन्ने सक्छ । किसिमका खेलको आयोजना गर्दा र खेलक्षेत्रमा मनखोलेर लगानी गर्दा पर्यटन, आर्थिकका साथै समृद्धिको आधार समेत बन्न सक्छ ।
पयर्टन र खेलक्षेत्रमा लगानी आवश्यक – सम्पन्न श्रेष्ठ (राखेप सदस्य)
राखेप सदस्य सम्पन्न श्रेष्ठ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ
फुटबल, क्रिकेट, ह्यान्डबल, भलिबल, मार्सल हार्ट, टेनिसलगायत अन्य खेलकुदका लागि पोखरासँग अब पर्याप्त भौतिक पूर्वाधार तयार भइसकेको छ । अब साहसिक खेलहरुको प्रबद्र्धनमा ध्यान दिनुपर्ने समयम आएको छ । रक क्लाइम्बीङ , प्याराग्लाइडिङ्ग, बन्जिजम्प, स्की, र्याफ्टिङ जस्ता खेल गण्डकी प्रदेशमा त्रिभाउन सक्ने हो भने त्यसले पयर्टन खेलकुद को ढोका खोल्नेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद भए पनि फरक किसिमको खेल हुन आवश्यक छ । साहसिक खेलका भौतिक पुर्वाधार निर्माण गर्ने हो भने भिन्नै खालको खेलकुदको विकास हुन्छ , जसले पर्यटकलाई आकर्षित गर्नेछ । त्यस्ता प्रतियोगिता गण्डकी प्रदेशले मात्र गराउने सामर्थ्य राख्छ ।
यस्ता खाले प्रतियोगिताको लागि पोखरानै जान पर्छ भन्ने तरिकाले पूर्वाधार निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । पूर्वाधार निर्माण चुनौतीपूर्ण भए पनि गर्न इच्छा शक्ति भएको अवस्थामा निर्माण सम्भव छ । यसका लागि प्रदेश सरकार र संघिय सरकार तयार हुनुपर्दछ । खेल पदाधिकारीले पनि सरकारलाई बुझाउन सक्नुपर्दछ ।
साहसिक खेललाई लक्षित गर्दै पूर्वाधार तयार गर्न सकेको खण्डमा विदेशी पर्यटन भित्र्याउन सकिन्छ । सुन्दर पर्यटकीय क्षेत्र विश्वकै नमुना पर्यटन क्षेत्र पोखराको हो । हिमालको काखमा बसेको सुन्दर र लोभलाग्दो सहरमा खेल्न पाउँदा को लोभिदैन होला ।
पर्यटकलाई लक्षित गरेर सहसायिक, पर्टकटिय खेल र अन्य खेलकुद गर्न सकेको अवस्थामा पोखरामा अहिलेको आए रहेका पर्टयकको संंख्यामा व्यापक वृद्धि हुन सक्छ । फुटबलका लागि सबै पोखरा आउन बाध्य हुँदैनन तर प्याराग्लाइडिङ गर्न र हेर्न पोखरा नै आउनुपर्ने हुन्छ ।
अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि तुलानात्मक रुपमा अन्य देशमा भन्दा नेपालमा सस्तो पर्न जान्छ । अन्य देशमा करोडौं लाग्ने यहाँ लाखौंमा सकिन्छ । तर, सामान्य खाले प्रतियोगिताले पयर्टक आउन गाह्रो हुन्छ । आयोजनाको स्तर पनि ठूलै हुनुपर्दछ ।
राज्यले पर्यटन र खेलकुद क्षेत्रमा साचे अनुरुप लगानी नै गर्न सकेको छैन । अहिले विस्तारै खेलकुदलाई हेर्ने दृष्टिकोणमा केहि फरक हुँदै गएको छ । खेलकुदले देशको अर्थतन्त्रमा प्रभावपार्ने एउटा सशक्त माध्यम हो भन्ने विषयलाई आत्मसात गर्दै लगानी बढाउँदै जाने हो भने भोली यो क्षेत्र आम्दानीको एउटा बलियो आधारमा हुनेमा शंका छैन ।